
म्याग्दी/बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसर पारेर म्याग्दी बौद्ध संघले बेनी अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ । बिहिबार आयोजित कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो ।
कार्यक्रममा म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य, बौद्ध संघकी टकसरा राना, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य तथा थकाली सेवा समाजका अध्यक्ष सुन्दरमान शेरचन लगायतको उपस्थिति रहेको थियो ।
फलफूल वितरण कार्यक्रममा बेनी अस्पतालका मेडिकल अधिकृत डा. रामु सापकोटा लगायत स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो । सहभागीहरूले बुद्धका करुणा, दया र मानव सेवाका सन्देशलाई व्यवहारमा उतार्दै बिरामीहरूको मनोबल उच्च बनाउन यस्तो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
बुद्ध जयन्ती र लुम्बिनी दिवसको अवसरमा सामाजिक सेवामूलक कार्यमार्फत मानवीय सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको म्याग्दी बौद्ध संघले जनाएको छ ।
बिहीबार फालफुल वितरण गरीएको र शुक्रबार बिहान बेनी नगरपालिका ७ स्थीत बुद्ध बिहारमा बुद्ध पुजा गरिने बौद्ध संघका अध्यक्ष शाक्यले बताए । उनका अनुसार महिला बौद्ध संघ, युवा बौद्ध संघ तथा भक्तजनहरुले शुक्रबारको मुख्य कार्यक्रममा समन्वय गर्नुका साथै सहभागीता जनाउने छन् ।





