
बागलुङ, १४ चैत – बहुदलीय व्यवस्था सुरु भएपछि जिल्लाभर सडक संजालमा अर्बौ रकम खर्च भएको छ । लगानीले गाउँगाउँमा सडक संजाल पुगेको छ । सडक संजाल पुग्दा ग्रामीण बासिन्दाले सामान ढुवानीमा ठूलो राहत पाएका छन् । बिरामी, असक्तहरु गाडी चढेर सदरमुकाम आउन सक्छन् । उपचार, शिक्षा र दैनिक कामकाजका लागि ती सडकहरु सहयोगी बनेका छन् ।
तर वर्षेनी गरिने लगानीको हिसाब गर्दा हरेक गाउँ सार्न पुग्नेगरी बजेट खर्च भएको छ । ती सडक भने सुधार भएका छैनन् । हरेक वर्ष बिनियोजन हुने बजेटले मर्मत समेत नभएर धेरै सडकहरु जीर्ण र धराप बनेका छन् । यस्तो अबस्थामा लगानी सुरक्षा र सदुपयोग गर्ने बिषयमा स्थानीय तह र माथिल्लो तहबाट पनि ध्यान दिइएको छैन ।
बागलुङ बजारदेखि तित्याङ, भकुण्डेहुँदै दमेक जाने सडक, सिगाना, गाजादह जाने सडकदेखि कुश्मीसेरा सडकमा पटक–पटक धेरै संस्थाबाट भएका लगानीको हिसाब र उपलब्धी मूल्यांकन नभएको स्थानीयको भनाई छ । स्थानीय सरकार, प्रदेश र संघिय सरकारको बजेट परेपनि एउटै सडक खण्ड देखाउने पद्दती बढी भएको जिल्ला समनन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना बताउँछन् ।
हरेक गाउँमा जाने धेरै सडक बनाउनुको साटो एउटा सडकलाई स्तरीय बनाउन सक्दा लगानी सदुपयोप हुने ढुंगाना बताउँछन् । ‘दुईचार घर भएको स्थानमा पनि सडक लैजाँदा पहिरोको जोखिम बढेको छ’ उनले भने, ‘स्तरीय सडकले वडा कार्यालय पुग्दा धेरैको खर्च र समय बचाउन सकिन्थ्यो ।’ उनले स्थानीय तहका प्रमुखसँग पनि यस्तो सुझाव दिने गरेको बताए ।
बागलुङकै गहतेदेखि सिगाना जाने सडकको ३ किमी खण्ड गत बर्षदेखि चौडा पार्ने काम थालिएको छ । यो खण्डमा झण्डै ३ करोड खर्च भैसकेको छ । संघिय सरकारको रणनीतिक सडक सुधार कार्यक्रमका लागि १ करोड, प्रदेश सरकारको १ करोड ५० लाख र नगरपालिकाको १५ लाख रुपैया“ खर्च भैसकेको बागलुङ नगरपालिका ८ का अध्यक्ष राजन जिसीले बताए । चालु बर्षका लागि पनि यो सडकलाई एक निर्वाचन क्षेत्रको एक रणनीतिक सडक भन्दै क्षेत्र नं. १ को संसद बिकास कोषबाट १ करोड रुपैया“ बिनियोजन गरिएको छ । ‘पक्की नाली र ग्राभेलको काम भैरहेको छ’ जिसीले भने, ‘अर्को बर्ष मात्र डिपिआर बनाउने तयारी छ ।’
कतै डिपिआर नबन्दै गरिने लगानी र कतै एउटै गन्तव्यमा धेरै सडकले बिकास अवरोध गरेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्साल बताउँछन् । सडक बिभागले बनाउने डिपिरआरले हाल ग्रामीण सडक र रणनीतिक सडकको मापदण्डभन्दा फरक पर्ने थाहा पाएर पनि धेरै वडा र स्थानीय तहले आफ्नै खालको डिपिआर बनाएर काम गरेका छन् । कतिपय स्थानमा डिपिआर बिनै करोडौ लगानी भएको छ । ग्रामीण सडकहरु ४ देखि ६ मिटरका मात्रै हुन्छन् । सडक बिभागले जिम्मा लिएर काम गर्ने सडक भने कम्तिमा ८ देखि १० मिटर चौडा आवश्यक पर्ने उनले बताए ।
एउटै सडकमा रणनीतिक, ग्रामीण, कृषि, प्रदेश र स्थानीय तहका आ–आफ्ना नाम दिएर काम समेत गरिएका छन् । मालढुंगा कुश्मीसेरा सडकको १० किमी खण्ड चालुबर्ष कालेपत्रे गरिंदै छ । गण्डकीप्रदेश सरकारको सडक स्तरीकरण तर्फको ‘क’ बर्गमा परेकोले यो सडकमा २६ करोड बिनियोजन छ । यहीँ सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत संसद बिकास कोषको १ करोड पनि परेको छ । चार बर्षअघि मात्र ड्रिलिपमार्फत १३ करोडको काम समेत कुश्मीसेरा सडक खण्डमै भएको थियो । मुख्य केन्द्रहरुमा पुग्ने सडकलाई गौरवको योजना, चक्रपथ, रणनीतिक। सहित मार्ग र ग्रामीण सडकको नाम दिइएको छ ।
बागलुङ नगरको चक्रपथले वडा नं. ६ को धारापानीसम्म छोएको छ । वडा नंं. ५ जाने ग्रामीण सडक पनि छ । उक्त सडक स्तरोन्नतीमा झण्डै एक करोड खर्च भएकोमा चालु बर्ष प्रदेश सरकारको लगानीमा फेरी रणनीतिक सडक समेत आसपासबाटै लगिएको छ । ‘एउटै ट्रयाकमा खर्च नहोस् भनेर तिरुपतिचोक, मालिका नामबाट लगानी भएको छ’ वडा अध्यक्ष शिवप्रसाद सापकोटाले भने, ‘यो सडकलाई काठेखोलाहु“दै बरेङ र ताराखोला जोड्ने क्षेत्रीय सडकमा विकास गरिने छ ।’





