‘के सोचेथे जिन्दगीमा के–के भयो आज
एकाएक आँधि चल्यो दिउँसै पर्याे रात’
कहिलेकाहीँ बहकिएको मन बुझाउन सुनिने यस्ता गीतका पंतिहरु कसैको जीवनका लागि वास्तविकतामा बदलिदा रहेछन् । हामीले कल्पना गरेभन्दा फरक धाराबाट बग्छ जिन्दगी । न यसको बर्तमान थाहा छ, नत भबिष्य नै ।
लकडाउनले पुरा बागलुङ बजार सुनसान छ । सिंगो देशनै अस्तव्यस्ताबीच गुज्रिएको छ । मध्यान्हको समय चर्काे घाम लागेको छ, तर मनमा रात परेको छ । आँखा वरिपरी आँसुले छोपेको छ र मुटुमा असैह्य बज्र परेको छ । धौलागिरि अञ्चल अस्पतालको गेटअघि एउटा ट्याक्सी रोकिएको छ । त्यहिँ ट्याक्सीभित्र एउटा छटपटिएको मुटु छ । त्यो मुटु वियोगमा छटपटिएको छ । माया गर्ने मान्छेको नाममा छटपटिएको छ ।
ताराखोला–१ भुस्कातका डम्बर छन्त्याल पत्नी वियोगको पिडाले अचेत थिए । उनका लागि त्यो दिन जीवनको सबैभन्दा कालो र उराठ बनिदियो, कारण एकदिनअघि आठ महिनाकी गर्भवती जीवन संगिनीलाई अञ्चल अस्पतालमा गुमाए । आफ्नै आँखाअघि संसारकै प्रिय मान्छे गुम्दाको पिडा खपिनसक्नु थियो । जे नहोस् भन्ने उनको कामना थियो तर त्यहिं भईदियो । उनको मायामा दैवको आँखा लाग्यो । बिबाहको डेढ बर्ष नपुग्दै एक्लो छाडेर संसारबाट जीवनसाथी अस्ताईन् ।
बैशाख ३ गते साँझ साढे ७ बजेतिर ढोरपाटन अनलाइनमा एउटा समाचार छापिएको रहेछ– ‘डाक्टरले प्रयास गरे तर गर्भवती बचाउन सकेनन् ।’ समाचार मेरो जीवनसंगिनी मुनाले पढिछन् । उनले विष्णु पुन नाम गरेकी २० बर्षिय भुस्कातको महिलाको अञ्चल अस्पतालमा मृत्यु भएछ, को होला भन्दै अत्तालिदै मलाई सोधिन । माईततिर कल घुमाउन लागिन । किनकी उनको आफ्नै जन्मगाउँको समाचार भएकोले पनि अलि बढि तनावमा हुनु स्वभाविक थियो । उनले भनिन्– ‘हाम्रै गाउँको डम्बर दाइकी श्रीमती रहेछन् । हत्तेरिका ! त्यो दाईको त बिहे भा’को पनि धेरै भा’को छैन । यो समाचार थाहा पाएपछि उनी रातभर सुत्न सकिनन् । केहि दिनअघि उनले मृतकलाई अस्पताल जँचाउन आउँदा देखेकी रहेछिन् । हिजो बिहान ११ बजेतिर म अस्पताल छिरेको थिए । त्यहाँ पुग्दाको दृश्य र दैनिक जसो भएका गर्भवती महिलाको निधनबारे केही नलेखी मन मानेन् । अझै मृतक ती बहिनी र उनका श्रीमानले गरेको संर्घषमय सुखद प्रेम कथाको दुःखद अन्त्यले मेरो मुटुमा च्वास्स घोचिदियो ।
प्रेम गर्नेहरुले संसार त्याग्छन् तर प्रिय मान्छे त्याग्न सक्दैनन् भन्ने एक उदाहरण थिए दुईजना । अस्पतालको गेटअघि श्रीमान बेहोस, यता अञ्चल अस्पतालको अन्डर ग्राउण्डको बि ४० कोठामा २० बर्षियाको पार्थिव शरीर । त्यो शरीरभित्र भर्खरै आठ महिनामा टेक्दै गरेको मृत शिशु । जन्मने उमेर एक महिना बाँकी रहँदै आमाको कोखमै निमोठिदिने दैवको कस्तो लिला ? यस्तो कारुणीक दृश्य कहिल्यै नदेखु भन्छु तर कहिलेकाहीँ यस्ता दृश्यको साक्षी आफु बन्नु पर्दाेरहेछ ।
बैशाख ४ गते घडीले दिउँसोको १२ : १८ बजाउँदै थियो । मृतक बिष्णुका ससुरासहित चारजनालाई स्टेचर लिएर पोस्टमार्टम कक्षमा जान भनियो । अघि प्रहरी हबल्दार प्रेम दाई त्यसपछि पोस्टमार्टमका सहयोगी चिरफार गर्ने दाई अनि हामी अन्य तिनजना पछिपछि थियौ । डाक्टर आएपछि पोस्टमार्टम गर्ने तयारी भयो । मृतक आमाको पेटको बच्चा बाहिर निकालेर सतगत गर्नु र भोलि भईपरी आउने कठिनाइलाई मध्यनजर गर्दै प्रहरी मुचुल्का र पोस्टमार्टम गर्नैपर्छ । एक घण्टा जति लगाएर पोस्टमार्टम सकियो । डाक्टर बाहिर निस्केर भने– ‘उहाँको मुटु अलि फुलेको रहेछ र मुटु सिलाईएको पनि रहेछ । सायद पहिला अप्रेसन भएको हुनुपर्छ ।’
एउटी गर्भवती आमाका लागि आफ्नो पेटको बच्चा हेर्ने इच्छा चाहना कति हुन्छ होला ? यो शब्दमा व्यक्त गर्न सकिदैन । त्यो अवसर बिष्णुले पाईनन् नत उनकी छोरीले यो धर्तिमा जन्मलिन पाईन, नत आमाबा देख्न नै । जन्म र मृत्यु स्वभाविक हो तर मृतात्माबाट मृत सन्तान जन्मेको कारुण्ीाकताले आँखा रसाउन बाध्य पारिदियो ।
संघर्षमय प्रेम कहानी
चिन्तित अवस्थामा रहेका बिष्णुका ससुराले विगत सम्झिए । बुहारीको १२/१३ बर्षको उमेरमा उतै माईतीमा मुटुको अप्रेसन गरिएको थियो रे भन्ने सुनेको थिए । बिष्णुको माइत ताराखोला–१ कै माझखर्कमा हो । उनीहरु ६/७ बर्षदेखि प्रेममा थिए भन्ने पनि सुनेको थिए । मुटुमा समस्या भएको थाहा हुँदाहुँदै विवाह गर्न दिन पनि भएन । त्यसैले हामीले छोरालाई विवाह नगर्न नै सुझाएका थियौ ।
विदेशमा रहेका डम्बरे जब नेपाल आए आफ्नो बाचा र कसमलाई कसैगरी तोड्न दिएनन् । नत उनले घरपरिवारको कुरा सुने नत माइतीको नै । आफ्नो बाचा र प्रेमलाई पुरा गर्न उनी पछि हटेनन् । नभन्दै उनले डेढ बर्षअघि विष्णुसंग विवाह गरे । सुरुबाटै मुटुकी रोगी बिष्णुसंग विवाह नगर्न दुवै पक्षबाट दबाब आएको थियो तर उनीहरुलाई थाहा थियो संसारका सबै रोगको उपचार प्रेम हो । लामो समयको भावनात्मक प्रेमलाई लत्याएर दुइजना एकअर्काबाट छुटन सक्ने अवस्थामा थिएनन् । उनीहरुलाई लाग्यो ‘काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।’
विवाहपछिका दिन खुशी साथ बिते । बागलुङ बजारमै बस्ने र कहिलेकाहीँ विशेष चार्डपर्वमा घरमा जान्थे । बिष्णुले मुटुको नियमित औषधी खान्थिन तर स्वास्थ्यमा ठुलो समस्या केही थिएन । उनीहरुमा अझै खुसी थपियो जब बिष्णु गर्भवती बनिन् । गर्भ बसेको आठौं महिना थियो । एक महिनापछि उनीहरु आमाबाबा बन्दै थिए । थपिदै थियो खुसीसंगै जिम्मेवारी पनि । उनीहरुले अस्पताल आउने, चेक गर्ने र स्वास्थ्यप्रति साबधानी अपनाएकै थिए । अफसोच, उनीहरुको जीवनमा बैशाख ३ गते कालरात्री बनेर आयो । एक्कसी बिष्णुलाई श्वास फेर्न कठिन भयो । डाक्टरले दिएको औषधी सेवन गरिन तर काम गरेन । साहै गाह्रो भएपछि अञ्चल अस्पताल ल्याईयो । बिष्णुको उपचारका लागि ५/६ जना डाक्टर खटिए । तर साढे सातबजेतिर बिष्णुले संसार छाडिन र संगै संसार छाडे गर्भमै बच्चाले पनि । बच्चालाई बचाउन सकिन्थ्यो तर अस्पतालमा आईसियु लगायतको अत्यावश्यक सुविधा भैदिएको भए । डाक्टरहरुले २०/२५ मिनेटमै अन्यत्र लानसक्ने अवस्था भए लानुस् भने तर त्यो सम्भव भएन ।
‘मृत्युपछिको भावनात्मक कुराभन्दा बढि गर्भवती अवस्थाको स्याहार र आमाको अवस्थाबारे चिन्तिन हुनुपथ्र्याे’ डाक्टरले भने । उनले लामो समयदेखि मुटुको औषधिको खादै आएकी रहेछन् । मुटुको समस्या भएको बेला गर्भवती हुनु झन् खतरा हुने डाक्टरको भनाई थियो । प्लाष्टिकभरिका औषधीले पनि उनको अवस्था दर्शाउथ्यो । बच्चाका लागि उनी सक्षम छैनन् भन्ने कुरा थाहा थियो तर संयोग भनौ त्यो भइछाड्यो । ‘हुनेहार दैव नटार’ भनेझै भयो ।
पोस्टमार्टमपछि गाउँकै घाटमा लगियो । साँझपखको डुब्दो घामसंगै बिष्णु अस्ताइन्, हेर्दाहेर्दै शरीर खरानी बन्यो । चितामा पार्थिव शरीर जल्यो तर उनीप्रतिको प्रेम युगौयुग बाँचिरह्यो । जन्ममृत्यु सामान्य प्रकृया हो । कठिन अवस्थामा पनि साथ नछाड्ने र बाचा पुरा गर्ने डम्बरेको त्यागले आम मायालु जोडी र सिंगो समाजलाई साँचो प्रेमको अनुपम उपहार दिएको छ । स्वर्गीय बिष्णु, उनकी नवजात शिशुप्रति श्रद्धाञ्जली । साथै, शोकसन्तप्त परिवारमा गहिरो समवेदना ।





