बूढापाकाहरु भन्थे,‘रोपे फल्छ, नरोपे कहाँ फल्छ ?’ हो, यो मुख्यबाली धान रोप्ने बेला हो । धान रोपाइँ चलिरहेको पनि छ । यही मेसोमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सोमबार धान खेतमा झुल्किए । त्यो पनि, धान रोप्नुपर्छ र उत्पादकत्व बढाउनुपर्छ भन्ने सोचसहित ! स्याङ्जाको गोडिङमा चाक्लो बनाएका खेतका गह्रामा उनी सुटबुटसहित ट्रयाक्टरमा उक्लिए÷सामाजिक सञ्जालमा हिलो टेक्न घिनाएको भन्दै आलोचित पनि बन्नपुगे । गोठिङका किसानहरुले चक्ल्याएको जमिन देखेर उनले उत्पादकत्व बढ्ने आशा मात्र गरेनन्, उत्पादकत्व बढे नीतिगत रुपमै पुरस्कृत गर्ने भन्दै कृषकलाई हौस्याए ।
प्रदेशका मुखियाले उत्पाकत्व बढाउन आफ्नो सरकारले चक्लाबन्दीलाई प्रोत्साहित गरेको जानकारी पस्कँदै गर्दा आफ्नो लालपूर्जा सरकारलाई बुझाएका किसानहरु खुसी नै देखिन्थे । जग्गा दिएका किसानहरुले साँच्चिकै आफ्नो आँठो,कुलो बिर्सेका थिए । उनीहरु ठूला गह्रा बनेपछि पसिना बगाउन नपर्ने र राम्रो उत्पादन हुनेमा ढुक्क देखिन्थे । १२४ जना किसानको ३१० रोपनी जग्गा केही गह्रामा रुपान्तरित हुँदा , मेसिनले धान रोप्ने, काट्ने अनि मोटरमै हालेर अनाज घरमा लैजान सकिने आशा पलाएको थियो ।
हो,गण्डकी प्रदेश सरकारले कृषिको आधुनिकीकरण, व्यावसायिकरण र उत्पादकत्व वृद्धिका लागि चक्लाबन्दीलाई प्रोत्साहित गरेको छ । चालु आर्थिक वर्षसम्म मात्रै ७ ठाउँको चक्लाबन्दीमा २ करोड ४५ लाख अनुदान दिएको छ । आउँदो वर्ष ८ करोड खर्चने योजना छ । कृषिलाई प्राथमिकतामा राख्दै परिचालित यी परियोजनाहरु आसेपासे र कार्यकर्तामुखी भएको आरोप नलागेको हैन । तर, गोठिङ फाँटमा त्यस्तो चाहिँ देखिएको छैन । सबै पार्टीमा आस्था राख्ने किसानहरुले खेत चक्लाबन्दीको लागि सुम्पेका छन् । कृषिमा बढ्दो लागत र उत्पादन कम हुँदा उनीहरु सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् । मुख्यमन्त्रीले कार्यक्रमस्थलमै खण्डिकृत जग्गामा मानिसले जति पाखुरा बजारे पनि त्यसबाट प्रतिफल नआउने भन्दै कृषकहरुलाई आधुनिक बन्न आह्वान गरे । उनले सिंचाई बिना चक्लाबन्दीले मात्रै केही नहुने आशय पनि व्यक्त गरे । यो विषय गण्डकी प्रदेशसभामा पनि उठ्यो । भएका जमिनमा सिंचाई पु¥याउनुपर्ने र डाँडाकाँडामा चक्लाबन्दीको नाममा गरिने खर्चले विनाश निम्त्याउ सक्नेतर्फ सचेत पनि गराइयो । कृषिमा आधुनिकीकरण अपरिहार्य छ । तर, आधुनिकीकरणको नाममा दुरुपयोग स्वीकार्य हुन सक्दैन । पूर्वाधारसहित चक्लाबन्दी गरिएका खेतहरु मानव बस्ती बसाल्नका लागि हुनै सक्दैनन् । सरकारले अब आँखा त्यता लगाउनुपर्छ । अर्कोतर्फ, प्रदेशकै कुरा गर्दा चक्लाबन्दी गर्नै नपर्ने ठूलाठूला टारहरु बाँझै छन् । ती टारमा सिंचाई मात्रै पुग्ने हो भने चक्लाबन्दी नगरे पनि उत्पादकत्व बढाउन सकिन्छ । चर्को घाममा घैया छर्ने टारमा साँच्चिके असारे र चैते धान फलाउन सकिन्छ । यो वर्ष प्रदेश सरकारले १ हजार २१७ हेक्टरमा यो वर्ष सिंचाई पु¥याएको र ४ हजार २७९ हेक्टर जमिनमा कुलो मर्मत गरि बाह्रै महिना सिंचाई पु¥याएको जनाएको बेला अबको ध्यान सिंचाईतिर नै हुनुपर्छ । जमिन उर्वर अनि लागत अनुसारको प्रतिफल आयो भने किसानहरु आफै पनि चक्लाबन्दीतर्फ लाग्छन् । अनुदानले लोभ्याउनै पर्दैन ।

