पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ बाढीले भन्दा पहिलोले नागरिकको ज्यान लियो । जथाभावी भएका नदी दोहन र सीमा क्षेत्रमा बनाइएका बाँधले यो पटक दुःख नमित्याइदिए हुन्थ्यो भन्ने कामना गरिरहँदा पहिरोले आफन्त एवं श्रीसम्पति खोसिनेहरुको पीडा शब्दमा अटाउने अवस्था छैन । हजारौँ नागरिक बेघरबार बनेका छन् । धनजनको क्षति हुने उपक्रम र त्रासको पारो घटेकै छैन । बस्तीहरु जोखिममा छन् । सिंगो देश कतिबेला कहाँ के हुने हो र अशुभ समाचार सुन्नुपर्ने हो भन्ने त्रासमा छ । विपत्तिको यो घडीमा नागरिकहरुलाई सुरक्षित राख्नु, उद्धार र राहतका कार्यक्रम तत्काल थाल्नु नै पहिलो प्राथमिकता हो । जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित थलोमा सार्दै ठूलो क्षतिबाट बचाउनु अर्को प्राथमिकतापूर्ण काम र जिम्मेवारी हो । बाढीपहिरो एक्लै आउँदैन, यसले विभिन्न रोग र भोक पनि ल्याउँछ । अत ः निम्तनसक्ने सम्भावित महामारी र भोकमरीबाट जोगाउनेतर्फ पनि तत्काल ध्यान पुग्नैपर्छ । उद्दार र पुनस्र्थापनाका पूर्वतयारीहरु फितलो हुनुको दोष निश्चित रुपले सरकारकै टाउकोमा जान्छ । सरकार यो दोषबाट बच्नेतर्फ लाग्नैपर्छ ।
बाढीपहिरो नेपालको भूबनौट तथा मौषमबाट सृजित विपत्ति हो । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि नेपालको नियति हो । पहाडमा वर्षा हुनासाथ खहरेहरु गड्गडाउने, पहिरो निम्त्याउने र तराई डुवानमा पर्ने समस्या नौलो हैन । हरेक वर्ष नेपाल यो समस्याबाट आक्रान्त हुँदै आएको छ । प्राकृतिक विपत्तिलाई टार्न सकिँदैन तर न्यूनिकरण गर्न सकिन्छ । पूर्वसावधानी अपनाएर क्षति कम गर्न सकिन्छ । अझ, प्रकृतिको लय नभत्काएर पनि विपत्तिबाट बच्न सकिन्छ । पछिल्लो समय प्रकृतिको अतिदोहनका कारण बाढीपहिरोको समस्या बढ्दै गएको छ । जथाभावि बनाएका भौतिक संरचना, नदी र पहाडहरुको अत्यधिक दोहन,जंगल फडानीले नेपालको पर्यावरण बिग्रेको छ । पर्यावरण बिग्रँदाको असर सबै क्षेत्रमा परेको छ । हिजो पनि पानी पथ्र्यो, बाढी आउँथ्यो तर पानीले आफ्नो यात्रा आफै तय गथ्र्यो । नदीहरु अतिक्रमणमा परेका थिएनन् । नदीको बाटो रोकिएको थिएन । पहाड हराभरा थिए । रुखका जराहरुले जमिन समातेकाले पहिरोको जोड चल्दैनथ्यो । पानीढलोहरु मासिएका थिएनन् । पानीढलो नमासिँदा पानी छिरल्लिएर बग्थ्यो । छिरल्लिएको पानी जमिनले सोस्थ्यो । एकत्रित नहुँदा यसले बाढीको रुप लिन पाउँदैनथ्यो । तर, अहिले त्यस्तो छैन । बस्ती नै नदीमा बसालिएको छ । पहाडहरुको अत्यधिक दोहन भएको छ । बाटो बनाउने नाममा पहाडहरु जथाभावि खन्दा पहिरोको जोखिम बढेको छ । पछिल्लो समय पहाडमा गएका पहिरोहरुको कारण जथाभावि खनिएका बाटाहरु भएको प्रमाणित भएको छ । वातावरणीय मूल्याङ्कन बिना डोजर चलाउने प्रवृत्ति नरोकिने हो भने आउँदा वर्ष झन त्रासदीपूर्ण हुनेमा कुनै शंका छैन । पहाडमा पानी नरोकिँदा र पहिरो चल्दा यसले तराईलाई पनि असर गरेको छ । अर्कोतर्फ, असुरक्षित बस्ती निर्माणमा रोक नलगाउँदा पनि समस्या चर्केको छ ।
विपत्तिको बेला तर्कको अर्थ रहँदैन । तर, प्रकृतिलाई देखाएर कमजोरी ढाकछोप गर्न मिल्दैन । प्रकृतिको दोहन रोक्नेतर्फ अब सरकार कठोर बन्नुपर्छ । त्यतिमात्रै नभएर असुरक्षित बस्तीहरुको स्थान्तरण, तटबन्ध निर्माण र विपत्बाट बच्नको लागि गरिने पूर्वतयारीलाई चुस्त र दुरुस्त बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । विपत्ति बाजा बजाएर आउँदैन तर कोरानोजस्तो बाढीपहिरो अनपेक्षित थिएन । हरेक वर्ष बाढीपहिरो आउँदा जाग्ने र वर्षैभर सुत्ने छुट सरकारलाई छैन र हुँदैन ।

