नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला ( विपी कोइराला ) र पुष्पलाल श्रेष्ठका नाममा यतिबेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालका पहिला जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विपी र प्ुष्पलालको स्मृति दिवस साउनको ६ र ७ गते पर्छन् । नेपाली कांग्रेसले ३८ औं स्मृति दिवस बाढीपहिरो पीडितको सेवासहित मनाएको छ । बुधबार ४२ औं स्मृति दिवसको क्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई नेपालका कम्युनिष्टहरुले सम्झँदैछन् । हरेक वर्ष साउनमा दुबै नेताहरु सम्झिइन्छन् । उनीहरुका त्याग, संघर्ष, सादगी जीवनकाबारे प्रवचनहरु दिइन्छ । उनीहरुले देखेको सपनाका चर्चा गरिन्छन् अनि वर्षदिनभर ती शिखर व्यक्तित्वले दिएका मार्गदर्शनहरु पालना गरिँदैन ।
एउटै कालखण्डका तर फरक विचारधारा बोक्ने नेताहरु हुन्, विपी र पुष्पलाल । जहानियाँ राणा शासनको बेला चेतनाको बिगुल पुग्दै मुक्तिका नारा घन्काउनु सजिलो थिएन । अझ, विपी नेतृत्वको नेपाली कांग्रेसले त राणा शासनको विरुद्धमा सशस्त्र क्रान्तिको नेतृत्व नै गरेको थियो । राणाकालीन समयमा सशस्त्र क्रान्तिको नेतृत्व गर्नु र उनीहरुको चंगुलबाट मुक्त गर्न विपीले जुन भूमिका निभाएका थिए, त्यो आफैमा दुश्साहसपूर्ण मान्दा फरक पर्दैन । समाजवादी चिन्तन बोक्ने विपीले नेपाली साहित्यमा दिएको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । राजनीतिक रुपले समाजवादी र साहित्यमा अराजकतावादी विपीबाट यौन मनोविष्लेषणमा टेकेर सृजित कृतिहरु नेपाली साहित्यका निधि हुन् । पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा उनले ल्याएका नीति तथा कार्यक्रमहरु अहिले पनि अनुकरणीय छन् ।
यता, वर्गीय मुक्ति र समानता माक्र्सवादी चिन्तनबाट सम्भव छ भन्ने मान्यता राख्ने पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना मात्र गरेनन्, नेपाली समाजलाई चेतना भर्ने काम पनि गरे । कहिल्यै लाभको पदमा नपुगेका पुष्पलाल त्याग र समर्पणका प्रतिक पनि हु्न् । उनले रोपेको विचार नेपालमा झाङ्गिएको छ । यतिबेला कम्युनिष्ट पार्टीको झण्डै २ तिहाईको सरकार छ । पुष्पलालले वर्गीय मुक्तिको सपना नदेखेको भए र कम्युनिष्ट विचारलाई नेपालमा नफैलाएको भए, यो अवस्था सायदै आउँथ्यो ।
समग्रमा दुबै नेता आदर्शवान थिए, दूरद्रष्टा थिए र त्यागका प्रतिमूर्ति थिए । अहिले दुबै नेताहरुको विचार भँजाएर सत्तामा पुगेकाहरुले उनीहरुको नाम त लिन्छन् तर आदर्श पच्छ्याउँदैन् । विपी र पुष्पलाल नेपालको समकालीन राजनीतिमा नाम भजाँएर खानको लागि मात्र प्रयोग भएको छ । जनतालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ भन्ने उनीहरुको आदर्श धुलोमा मिसाइएको छ र नेताहरु विलासी जीवनका पर्याय बनेका छन् । कुुनै व्यक्तिलाई स्मरण गरेर,स्कूल, कलेज वा बाटोमा उनीहरुको नाम झुण्ड्याएर मात्रै सम्मान व्यक्त गरेको मानिँदैन । उनीहरुले देखाएको बाटो पच्छ्याए मात्रै नेताहरुप्रति वास्तविक श्रद्धाञ्जली अर्पण भएको मानिन्छ । नैतिकता गुमेको र जनताप्रति किंचित पनि उत्तरदायित्व नभएको व्यक्ति आदर्श व्यक्तित्वहरुका समर्थक हुन सुहाउँदैन । विपी र पुष्पलाललाई सम्झँदै गर्दा नेताहरुले एकपटक आफूभित्र चियाउने हिम्मत गरुन् । आफूले हिँडेको बाटोको सिंहावलोकन गरुन् र आफूलाई सच्याउने प्रण गरुन् । अनि मात्रै उनीहरुप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरेको मानिनेछ ।

