बागलुङ, १ असोज– ढोरपाटन नगरपालिका वडा न. ९ को भुजीखोला बाढीपछि राहत वितरणका लागि आएका गृहमन्त्री रामबहादुर थापा बादलले एकीकृत बस्ती निर्माणमा राज्यको सहयोग हुने धारणा राखे । भोलीपल्ट पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सोही प्रकृतिको धारणा राखेर पीडितलाई सान्त्वना दिए ।
गत भदौ १७ गतेको बाढीले ढोरपाटनमा १ सय २६ घर पूर्ण रुपमा विस्थापित भएको प्रारम्भिक तथ्यांक छ । उक्त तथ्यांकमै घरै नहुने थोरै छन् । अधिकांशको ढोरपाटन वा अन्य गाउँमा पनि कुनै न कुनै बासस्थान भएको भने खुलेको छ । पहिरोले भुजीखोला किनारका घरहरु भने पूर्ण रुपमा नष्ट पारेको थियो । बस्ती उजाड भएको देखेपछि मन्त्रीहरुले एकीकृत बस्ती विकासको योजना सुनाएका थिए ।
तर के बोबाङको उपल्लो क्षेत्रमा एकीकृत बस्ती संभव छ ? यो विषयमा बहस भइरहेको छ । एकीकृत बस्ती बनाएमा खानेपानी, विद्युत, सडक र अन्य सेवा सुविधा विस्तारमा सहयोग पुग्न सक्छ । खेलमैदान बनाएर युवा तथा बालबालिकाको चाहना पूरा गर्न पनि सकिन्छ । स्वास्थ्य चौकीको पहुँच विस्तार हुन्छ । तर, त्यसका लागि सुरक्षित जमिन पनि आवश्यक पर्छ । ठूलो क्षेत्रफलको जमिन पाउने कुरा ग्रामीण क्षेत्रमा असंभव प्राय छ ।
त्यतिमात्र हैन एकीकृत बस्ती बसालेर बिहान–बेलुकी खेती किसानी गर्नुपर्नेलाई यो संभव छ त ? धेरैले गरेको प्रश्नमा बढेको अन्तरक्रियाले असंभव देखाउन थालेको छ । ‘एकीकृत बस्ती बनाउने भन्ने कुरा ढोरपाटनका लागि संभव हुने कुरा होइन’ प्रतिनिधिसभाका सांसद सूर्य पाठकले भने, ‘एकातिर खेतीपाती, एकातिर पशुपालन र अर्कोतर्फ घर बनाएर बस्ने संभावनाको क्षेत्र होइन ।’ उनले दिनभर एउटै कारखानामा काम गर्ने मजदुर, बेलुकी एउटै बस्तीमा फर्केर बस्नका लागि मात्र यो व्यवस्था उपयोगी हुने उनले सुझाव दिए ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पनि अहिले एकीकृत बस्ती असंभव हुने देख्न थालेका छन् । उनले तत्काल एकीकृत बस्ती बसाल्न हतार गर्दा पछि पछुताउनु पर्ने खतरा देखेको बताए । ‘छरिएर बसेकाहरुको खेतीपाती पनि छरिएको छ । धेरै मानिस कहिले ढोरपाटन, कहिले बोबाङ गरिरहन्छन्’ उनले भने, ‘एकै ठाउँमा राखेर उनीहरुको आवश्यकता पनि पुरा हुँदैन ।’ बरु हरेक पीडितको घर एउटै मोडलको बनाउने काममा अगुवाई गर्दा राम्रो हुने उनले बताए ।
नगरपालिकालाई राहत तथा सहयोग हस्तान्तरण गर्न आउनेहरुले पनि यस्तै सुझाव दिएका छन् । अधिकांसले गाउँघरकै रुपमा बस्ती विकास गर्ने, तर खोला छेउमा बस्न नदिने व्यवस्थापनमा भने नगरपालिकाले भूमिका खेल्नुपर्ने गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमलाल सापकोटा सुझाव दिन्छन् । ‘खोला छेउमा बस्दा जहिले पनि बाढीपहिरोको जोखिम बढ्छ, त्यसैले सुरक्षित जमिन छनौट गर्नुपर्छ’, उनले भने, ‘भुकम्प र बाढी पहिरोबाट सुरक्षित बस्ती बिस्तारमा नगरपालिकाले अगुवाई गरोस् ।’
ढोरपाटनका प्रमुख देवकुमार नेपालीले पनि बस्ती बस्तीमा एउटै डिजाइनका घर बनाउन नगरले भूमिका खेल्ने बताए । ठूलो भूगोल र नियमित ढोरपाटन जाने आउनेहरु बढी भएकोले एकीकृत बस्ती उपयोगी नहुने निष्कर्षमा पुगिसकिएको उनको धारणा थियो ।
नगरपालिकाले नक्सापास गर्दा तोकिएका मोडल बनाउने, बढीमा दुईतले मात्र बनाउन दिने र संकलित तथा राज्यबाट पाइने राहत मिलाएर हस्तान्तरण गर्दा घर बन्न सक्ने उनले बताए । घरका छना छाउने जिम्मा भने नगरप्रमुख नेपाली आँफैले लिएका छन् ।
‘तपाई घर बनाउनुहोस्, छानामा देवकुमार नेपाली आउँछ भनेको छु’ उनले भने, ‘एउटै रंगका जस्तापाता सहयोग गरेर पीडितलाई उद्दार गर्न मैले सहयोग गर्ने योजना बनाइसकेको छु ।’ उनले सानो सहयोगको नाउँमा जोसुकै आएपनि गाउँमा जानु नपर्ने सुझाव दिएको बताए । राहत वितरणमा समेत नगरपालिकाले एकद्वार प्रणाली अपनाएको बताए ।
गोरखाको बारपाक र लाप्राकजस्तै बस्ती बसाल्न धेरैले चासो राखेपनि ढोरपाटनको लागि उपयोगी नभएको जानकारहरुको सुझाव आइरहेको छ । यो क्षेत्रमा दुइवटा विद्यालय पनि बगाएको छ । ती विद्यालय पुननिर्माणका लागि नगरपालिकासहित शिक्षा मन्त्रालयको संयन्त्र परिचालन गरिने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
‘बालबालिकाले पढ्न पाउने व्यवस्थाका लागि हामी गम्भिर छौं, त्यसका लागि सबै खोजी भैरहेको छ’ उनले भने, ‘पढाई संचालन गर्ने समय नजिक आएकोले विद्यालय पनि जनताको आवास जत्तिकै महत्वको छ ।’ आम बुझाइमा विद्यालय प्राथमिकतामा नपरेकोले आफूले उपल्लो निकायमा जानकारी गराएर योजना बनाइदिन भनेको बताएका छन् ।





