शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितहरु घरमै, जोखिम बढ्दो

संक्रमितहरु घरमै, जोखिम बढ्दो

जनशक्तिको अभाव पूर्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले बल्ल चिकित्सकसहित विभिन्न ३१ पदको लागि आवेदन माग गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

पोखरा, ७ मंसिर– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुग्दा ४ हजार ५८१ जना कोरोनासँग लडिरहेका छन् । शनिबार मात्रै कोरोनाबाट यहाँका २ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरुमा पोखरा–१३ का ७१ वर्षीय वृद्ध र पर्वतको मोदी गाउँपालिका–६ का ६१ वर्षीय पुरुष रहेका छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निधन भएको हो ।कोरोनाको ओखती छैन तर गम्भीर बिरामीलाई आइसीयू (सघन उपचार कक्ष ) र भेण्टिलेटरमा राखेर उपचार गरिन्छ । फोक्सोमा संक्रमण हुनेहुँदा उनीहरुलाई अक्सिजन पनि दिनुपर्छ । तर, गण्डकी स्वास्थ्य निर्देशनालय भन्छ,‘संक्रमितमध्ये अहिले ३ हजार ७५५ जना होम आइसोलेसनमा छन् ।’ अर्थात् उनीहरु घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । गम्भीर संकट नदिए एउटा कुरा, नत्र संक्रमितहरुलाई जतिबेला पनि समस्या पर्नसक्छ । समस्या प¥यो भने जाने ठाउँको चाहिँ अभाव छ । निजी अस्पतालहरुले सकेसम्म संक्रमितलाई भर्ना लिँदैनन् । गम्भीर प्रकृतिका विरामीलाई पहिल्यै पनि सरकारी अस्पताल ‘सिफारिस’ गर्ने निजी अस्पतालहरु थप समस्यामा पर्न चाहँदैनन् । आइसीयू र भेण्टिलेटर नभएको जवाफ फर्काउँछन् । राख्दै परे पनि पहिल्यै पैसा धरौटी माग्छन् । बाध्य भएर बिरामीहरु घरमै बस्न बाध्य हुन्छन् । गण्डकीमा अहिले कास्कीमा मात्रै ३ हजार १६ जना होम आइसोलेसनमा छन् । नवलपरासीमा ३७७,बागलुङमा १०,तनहुँमा २०१,गोरखामा ९७ र पर्वतमा ५४ जना संक्रमित घरमै बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल ९३ जना मात्रै स्थानीय तहले व्यवस्थापन गरेका क्वारेण्टिनमा बसिरहेका छन् । तीमध्ये सबैभन्दा बढी नवलपरासीमा ५६ जना रहेका छन् । कास्कीमा १५, बागलुङमा ४,तनहुँमा १२ र स्याङ्जामा १८ जना क्वारेण्टिनमा भएको प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । संक्रमण बढी फैलिएको जिल्लामा आफै पीसीआर परीक्षण गराउनेहरु बढे पनि जिल्ल्लाहरुमा पीसीआर गराउनेहरु घटेका छन् । उपचार नपाइने, समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुने र अनावश्यक झमेला आउने हुँदा पीसीआर गराउनेहरु बढेका हुन् ।
‘लमजुङकै कुरा गर्ने हो भने यहाँ संक्रमितको संख्या बढी हुनसक्छ तर जाँच्ने कहाँ ?’, उदीपुरको जनकल्याण माविका एक शिक्षकले भने,‘ सदरमुकाम जाऊ, परीक्षण गर अनि रिपोर्ट कुर गर्ने फुर्सद किसानलाई छँदैछैन, परीक्षण सर्वसुलभ नहुँदा कति संक्रमित बढे भन्ने नै थाहा छैन ।’ लमजुङमा पछिल्लो विवरण अनुसार १०४ जनामा संक्रमण छ । पछिल्लो २४ घण्टामा त्यहाँका ४८ जनाको पीसीआर परीक्षण गरिएको छ र तीमध्ये ५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा संक्रमित हुनेको संख्या १०९ हुँदा ५६ जना पोखराका छन् ।
‘संक्रमणको दर पोखरामा बढेको छ, स्वास्थ्यको राजधानी पनि पोखरा नै हो तर यहाँकै सबैभन्दा बढी संक्रमित घरमै बस्नुपर्ने बाध्यता छ भने अरु जिल्लाको के कुरा ?’, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत एक डाक्टरले भने,‘यहाँ आएर पनि उपचार पाउने अवस्था छैन भन्दा पनि हुन्छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गण्डकीमा कुल २०५ वटा आइसीयू र ६२ वटा भेण्टिलेटर भएको बताएको छ । तीमध्ये उसकै जानकारी अनुसार ८६ वटा आइसीयू र १४ वटा भेण्टिलेटर भरिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार फोकल पर्सन डाक्टर वुद्धिसागर लामिछानेकै भनाई सापट लिने हो भने अहिले अस्पताल आउने ३५ मध्ये ३० जनालाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । चिसो बढ्दै छ, आमनागरिकको ज्यान जोखिममा पर्दै गएको छ । चिसो र त्यसमाथि संक्रमणले बुढाबुढी र बालबालिकाहरुको ज्यान जोखिममा परेको छ । दक्ष जनशक्तिको अभाव पनि खट्किएको छ । जनशक्तिको अभाव पूर्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले बल्ल चिकित्सकसहित विभिन्न ३१ पदको लागि आवेदन माग गरेको छ । आवेदन बुझाउने म्याद मंसिर १० गतेसम्म राखिएको छ । जिल्ला अस्पताल तथा लेखनाथमा स्थापना गरिएको कोभिड अस्पताल व्यवस्थापनको जिम्मा प्रदेश सरकारकै भए पनि त्यहाँ दक्ष जनशक्तिको अभाव छ । विरामीहरु घरमै राख्दा एकातिर असुरक्षा र अर्कोतिर परिवार हुँदै समाजमै संक्रमण फैलने खतरा बढेको छ । तर, प्रदेश सरकार भने व्यवस्थापन ठीकठाक भएको जिकिर गरिरहेको छ । यहाँका मुख्यमन्त्रीदेखि मन्त्रीहरु अमेरिकामा त बिरामी घरमै बस्नुपर्ने बाध्यता छ भने नेपालका के कुरा ? भन्ने उल्टो प्रश्न तेस्र्याउँदै आफ्नो कमजोरीको ढाकछोप गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->